बूढानीलकण्ठ / बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चा अवस्थित जैविक कृषि सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभा आगामी २०८१ असोज १२ गते शनिबार गर्ने भएको छ। यसअघि साधारणसभा गाम्चास्थित जन उद्धार माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भनिए पनि विशेष कारणवश उक्त स्थान परिवर्तन गरिएको छ। अब साधारणसभा सुकुन्दा ब्यान्कोटमा बिहान ११ बजे हुने छ।
सहकारीले कृषिलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत, मलहरू सहुलियत दरमा उपलब्ध गराउनु, विभिन्न कृषि औजारहरू अनुदानमा सदस्यहरूलाई वितरण गर्नु तथा धानका बीउहरू उपलब्ध गराउने जस्ता महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यसले स्थानीय किसानहरूलाई जैविक कृषि प्रणालीमा आकर्षित गर्न र सहयोग पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याएको छ, जसले यो सहकारीलाई सफल सहकारीमध्ये एक बनाएको छ।
साधारणसभामा स्थानीय किसान, सहकारीका सदस्यहरू, र अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आगामी दिनमा सहकारीले कृषिलाई थप प्रवर्द्धन गर्ने योजना सार्वजनिक गर्ने तयारी गरिरहेको छ।







