नेपाल ओलम्पियन्स संघको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ओलम्पिकमा देशको प्रतिनिधित्व गरिसकेका ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो सो कार्यक्रममा ४० जना ओलम्पियनको सहभागिता थियो ।
दुई दिनको कार्यक्रममा पुष्करराज पन्तले योग तथा ध्यान र राजेश पाण्डेले पब्लिक स्पिकिङ सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए । त्यस्तै पहिलो दिन डा. प्रकाश प्रधानले खेल मनोविज्ञान र दोस्रो दिन इन्द्र गुरुङले प्ररेणादायी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए ।
सहभागीमध्येबाट ओलम्पियन भगवती केसी कार्यक्रम आयोजनाका लागि संघलाई धन्यवाद दिइन् । ‘ओलम्पियनका रुपमा गर्व त लाग्छ । तर विस्तारै हामीलाई विर्सदै गएको हो कि भन्ने लाग्थ्यो,’ उनले भनिन्,‘ तर अहिले संघ सक्रिय भएपछि हामी काठमाडौं बाहिर हुनेलाई पनि यसरी सम्झेर सहभागी गराउनुभयो त्यसका लागि धन्यवाद। दुई दिने उक्त कार्यक्रमले म पनि आफ्ना कुरा अरुलाई सुनाउन सक्ने भएको छु ।’
सोही अवसरमा ओलम्पियन स्नेहा राणाले विश्व ओलम्पियन एसोसिएन (डब्लूओए) को महत्व र नेपाल ओलम्पियन्स संघको त्यसमा आबद्धताका बारेमा प्रकाश पारेकी थिइन् । डब्लूओएले विश्वभरका ओम्पियनहरुको हकहितका लागि आवाज उठाउने गरेको उल्लेख गर्दै विश्वमा अहिले झण्डै १ लाख डब्लूओएको सदस्य रहेको जानकारी दिइन् । त्यस्तै राणाले डब्लूओएले ओलम्पियनको विश्वव्यापी मान्यताका लागि ओएलवाई पदवीलाई सन् २०१७ देखि प्रयोगमा ल्याएको स्मरण गरिन् । ओलम्पिक खेल्ने हरेक खेलाडीले ओएलवाईको पदवी पाउने र त्यसका लागि केहि प्रक्रिया पूरा गर्नुपर्ने जानकारी दिइएन् । डब्लूओएबाट नेपालका २० ओलम्पियन ओएलवाईको पदवी प्राप्त गरेको र सोही कार्यक्रमा त्यो प्रमाणपत्र वितरण गरिएको थियो ।
एनओसीका उपाध्यक्ष एवंम् निर्देशक चतुरानन्द राजवैद्यले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । ओलम्पियन्स संघका अध्यक्ष ओलम्पियन दीपक विष्टले दुई दिनको कार्यक्रम प्रभावकारी देखिएको र सहभागीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको बताए । उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । समापनमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थिति थियो ।







