नेपाल विश्व अर्थतन्त्रको आकारमा दुई तह माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा अर्थतन्त्रको आकारका आधारमा नेपाल विश्वको ९८औं स्थानमा परेको छ। गत वर्ष नेपाल १००औं स्थानमा थियो।
आइएमएफको विश्व आर्थिक परिदृश्यको पछिल्लो प्रक्षेपणअनुसार नेपालको अर्थतन्त्रको आकार बढेर ४२ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। यो भनेको विश्वअर्थतन्त्रमा ०.०४ प्रतिशत हिस्सा हो। नेपालभन्दा अघि ९७औं स्थानमा दक्षिण अमेरिकी देश पाराग्वे र पछि ९९औं स्थानमा युरोपेको स्टोनिया छ। पाराग्वेको अर्थतन्त्र ४३ अर्ब र स्टोनिया र नेपालको अर्थतन्त्रको आकारबराबर छ।
यसअघि स्टोनिया नेपालभन्दा अघि थियो। गत वर्ष नेपालको अर्थतन्त्रको आकार ३९ अर्ब अमेरिकी डलरबराबर थियो। एक वर्षमा नेपालको अर्थतन्त्रको आकार झन्डै ३ अर्ब डलर बढेको छ। राष्ट्रिय तथ्याँक कार्यालयले यो वर्ष आर्थिक विस्तार खुम्चिएर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ। 







