नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले बैठकमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा अदालतको फैसला कुर्ने बताए । उनले पक्राउ पर्नेवित्तिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।
सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री जीवन परियारले अदालतको फैसलापछि मात्रै खाणको विषयमा पार्टीले निर्णय लिने बताए।
कुनै पनि व्यक्ति पक्राउ पर्नवित्तिकै दोषी नहुने भन्दै अनुसन्धानपछि अदालतको निर्णयअनुसार नै कांग्रेस अघि बढ्ने परियारले बताए।
‘हामीले अहिले औपचारिक निष्कर्ष निकालेका छैनौँ। अनुसन्धानको क्रममा पक्राउ पर्नेवित्तिकै दोषी हो भनेर भन्न मिल्दैन। अभियुक्तको रुपमा मात्रै लिन सकिन्छ। अदालतबाट फैसला भइसकेपछि, निर्णय आइसकेपछि मात्रै उ दोषी ठहरिने हो,’ उनले भने, ‘अदालतले भोलि जे ठहर गर्छ त्यो कुरा हामी सधैंभरि मान्न तयार छौँ।’
नेपाली कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनको भनाइ थियो। ‘कांग्रेस पार्टी कहिल्यै पनि दोषीलाई उम्काउने पक्षमा छैन। अनुसन्धानमा सत्यतथ्य छानबिन गरियोस्। अनुसन्धानलाई प्रभावित नपारियोस्,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्याउने कुरामा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीको एकमत छ।’
साथै उनले नेता खाणले अनुसन्धानलाई सहयोग पुर्याएको पनि बताए। उनले भने, ‘दोषीलाई कुनै पनि हालतमा छोड्नु हुँदैन र निर्दोष पनि पर्नु हुँदैन। यो हाम्रो सर्वमान्य सिद्धान्त हो। त्यसमा कांग्रेसले खुलेर सहयोग गरेको छ। उहाँ छानबिनका लागि तयार भएर जानुभएको छ। अनुसन्धानलाई सहयोग पुर्याउनु भएको छ।’







