काठमाडौ / नेपाली शेयरबजार हप्ताको पहिलो दिनमा वृद्धि भएको छ ।शेयरबजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बजारले गति लिँदा लगानीकर्ता उत्साहित देखिएका छन् ।लगभग ३ महिना भन्दा बढी नेपालको शेयरबजार निरन्तर ओरालो लागेको थियोे ।
आइतबार सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ ।आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आइतबार कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । बर्तमान समयमा नेपाली शेयरबजारको दैनिकी कारोबार रकममा समेत दैनिक ५ अर्ब देखि ७ अर्बको बीचमा कारोबार हुँदै आएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ।
सबैभन्दा बढी ५.६२ प्रतिशत बढेको छ उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक रहेको छ । भने अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बिमा र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतबार दिनभरको कारोबारमा आएका कम्पनीमध्ये भोटेकोसी जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत बढेको हो । त्यसैगरी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको लगभग सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । अरुण भ्याली हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । अपि पावर, अपर तामाकोसी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोडभन्दा बढीको सेयर कारोबार भएको थियो ।







