नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत व्यवस्थापनमा देखिएको कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै, राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रचण्डले काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा माओवादी केन्द्रद्वारा सुरु गरिएको स्वयंसेवक परिचालन अभियानको उद्घाटन गर्दै, प्राकृतिक विपत्तिको समयमा प्रभावकारी व्यवस्थापनको अभावले क्षति बढेको बताएका हुन्। मौसमको पूर्वानुमान भए तापनि सरकारको तयारी र प्रतिकार्य कमजोर रहेको उनको भनाइ छ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले विपत्तिको समयमा सत्तापक्ष र प्रतिपक्षबीच भिन्नता नगरी सबैले हातेमालो गर्दै पीडित जनतालाई राहत तथा पुनर्स्थापनामा साथ दिनुपर्ने बताए। उनले २०७२ सालको विनाशकारी भूकम्पको समयमा आफूले संविधान निर्माण र पुनर्निर्माणमा भूमिका निर्वाह गरेको स्मरण गराउँदै यसपटक पनि जनताको दुखमा साथ दिने दृढता व्यक्त गरे।

बल्खुको जागरण टोलमा ४१७ घरपरिवार प्रभावित भएको र करिब चार सयभन्दा बढी नागरिक विपत्तिको चपेटामा परेको जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय