हुम्ला, असार २२ –
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार ऐतिहासिक यात्रामा हुम्लातिर लाग्दै छन्। विगत २६ वर्षदेखि राष्ट्रिय सडक सञ्जालको पर्खाइमा रहेको सुदूरपश्चिमको दुर्गम जिल्ला हुम्लामा आजदेखि त्यो प्रतीक्षा समाप्त हुँदैछ।
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज बिहान सवा १० बजे हुम्ला पुग्ने कार्यक्रम छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो पुल उद्घाटनसँगै हुम्ला आधिकारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा समावेश हुने छ।
प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाँदै छन्।
यो पुल उद्घाटनको तयारीसँगै हुम्लावासीमा उत्साह थपिएको छ। दुई दशकभन्दा बढी समयदेखि सडक सुविधाबाट वञ्चित रहँदै आएको सिमकोट अब देशको मुख्य सडक संरचनासँग जोडिन लागेको छ।
प्रधानमन्त्री ओलीले १० दिनअघि नै सामाजिक सञ्जालमा उत्साहपूर्वक लेखेका थिए —
‘हुम्ला अब टाढा छैन। देशका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सपना अब पूरा हुँदैछ।’
यो परियोजना केवल एउटा पुलको उद्घाटन मात्र होइन, सिंगो हुम्लाको विकास, स्वास्थ्य सेवा, शिक्षा, र जीवनस्तरमा उल्लेखनीय सुधारको संकेतको रूपमा लिइएको छ।
– बागमती मञ्च डेस्क
तपाईंलाई देशका कुनाकापचाका खबरहरूसँग जोडिराख्ने डिजिटल मिडिया







