काठमाडौँ, २३ असार।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशका विभिन्न भागमा भइरहेका मौसमजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै सरकार उच्च सतर्कतामा रहेको जानकारी दिएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिंदै प्रधानमन्त्री ओलीले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखिएको बताए।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक उद्धार उपकरण र साधनसहित तैनाथ गरिएका छन् र जिम्मेवारीका साथ काम गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले सम्भावित विपद् प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरू खटाइएको जनाउँदै तिनको सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको जानकारी दिएका छन्। साथै, उनले सूचना आदान–प्रदान र समन्वयका लागि सबैलाई अनुरोधसमेत गरेका छन्।
सरकारद्वारा गरिएको यो सक्रियताले हाल बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपको जोखिममा रहेका नागरिकहरूलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।







