काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रकम नउठाएको विषयमा गम्भीर प्रश्न उठाएका छन्। आइतबार राति सामाजिक सञ्जालमार्फत उनले बक्यौता रकम उठाउन आवश्यक रहेको र २२ अर्ब रुपैयाँ अझै असुल नगरेको विषयमा जवाफ खोजिनुपर्ने बताएका छन्।
उनले भने, “सरकारले ९ वर्षमा २१ अर्ब ८८ करोड रुपैयाँ महसुल नउठाएर १६ अर्ब रुपैयाँ छुट दिएको छ। यो विषयमा जवाफ खोजिनु पर्ने छ। उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याउँदै बक्यौता रकम उठाउनैपर्ने छ। रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन।”
प्रधानमन्त्री ओलीले थपे, “केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सरकार डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट महसुल उठाउन खोजिरहेको छैन भन्ने प्रश्न उठाइरहेको छ। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ बक्यौता किन उठाइएन र किन १६ अर्ब छुट दिइयो भन्ने विषयमा स्पष्ट जवाफ खोजिनुपर्छ। अब यो रकम उठाउन कडा कदम चाल्नुपर्छ।”
यसका साथै, ओलीले उद्योगहरूको उत्पादन र रोजगारीमा असर नगरी बक्यौता रकम असुल गर्नुपर्नेमा जोड दिएका छन्। उनले सरकारको जिम्मेवारी र जवाफदेहिता उच्च स्तरमा राख्नुपर्ने कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।







