काठमाडौं: आश्विन शुक्ल पक्षको द्वादशी अर्थात् बडादशैँको टीका लगाउने क्रम सोमबार पनि जारी छ। आजको दिन ४५ घडी ५५ पला द्वादशी तिथि रहेको छ। बडादशैँको महत्त्वपूर्ण पाटो मानिने टीका–प्रसाद ग्रहण गर्ने परम्परा विजयादशमीको दिनदेखि नै सुरु भएको हो, जुन पूर्णिमासम्म चल्ने गर्दछ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा–अर्चना गरी विजयादशमीका दिन घरमा मान्यजनबाट टीका लगाइन्छ। मान्यजनको हातबाट टीका लगाएपछि सर्वसाधारणहरू आफन्तकहाँ पुगेर टीका–प्रसाद लिने गर्दछन्। यस क्रममा मावली, बुढामावली, ससुरालीजस्ता नातासम्बन्धका मान्यजनलाई भेट्न जाने चलन छ।
देशका विभिन्न भागमा विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा रहेको भए पनि कतिपय ठाउँमा यो क्रम पूर्णिमासम्म जारी रहने गर्दछ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि बडादशैँको टीका लगाउने चलन समाप्त हुन्छ।
बडादशैँ नेपाली समाजमा धार्मिक, सांस्कृतिक, र पारिवारिक महत्त्वको पर्व हो। यो समयमा घरपरिवार र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसर मिल्ने भएकाले टाढा रहेका बन्धु–बान्धव, मावलीघर, र ससुरालीमा जाने परम्परा बलियो रहेको छ।







