प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको प्रथम खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका थिए भने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ लगायत खेल जगतमा टेवा पुर्याउन महान भुमिका निर्वाह गर्ने ब्यक्तिहरुको समेत सहभागीमा विशेष अतिथीहरु माननीय जीवन राम श्रेष्ठ, अध्यक्ष, नेपाल ओलम्पिक कमिटी, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिब कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, नेओकका उपाध्यक्षहरु अशोक रत्न बज्राचार्य, तेज गुरुङ, नेओकका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेओकका सदस्यहरु होम दोङ, रमेश सिवाकोटी तथा अन्य विशेष अतिथिहरुको उपस्थितिमा प्रथम बागमतीे प्रदेश खेलकुद प्रतियोगिता मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक वैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
बागमती प्रदेशको राजधानी हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा हेटौंडामा मिनी रंगशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रियस्तरका कलाकार र हेटौंडाका कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका खेलाडी तथा खेलप्रेमीको उपस्थिती रहेको थियो ।







