काठमाडौं, असार १९ ।
भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस ‘बीपी’ समूहका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्।
बिहीबार वनस्थलीस्थित पार्टी मुख्यालयमा पुगेका कांग्रेस बीपीका सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्लसहित अन्य नेताहरूले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्। उनीहरूले लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको आरोप पनि सार्वजनिकरूपमा दोहोर्याएका छन्।
हस्ताक्षर पछि उपसभापति मल्लले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै भने, “राजनीतिक असहमति र चुनौतीलाई जेल हालेर दबाउने प्रवृत्तिको हामी विरोध गर्छौं। रवि लामिछानेप्रति देखिएको व्यवहार शुद्ध प्रतिशोध हो।”
रास्वपाले हालै सुरु गरेको हस्ताक्षर संकलन अभियानमा लामिछानेको गिरफ्तारीविरुद्ध नागरिक र राजनीतिक समर्थन बटुल्ने प्रयास भइरहेको छ। पार्टीको तेस्रो स्थापना दिवस (असार ७) मा सार्वजनिक गरिएको २० पृष्ठको अपिलपछि अभियान बाक्लिँदै गएको छ।
रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई राजनीतिक हस्तक्षेप र चरित्र हत्याको रूपमा चित्रण गर्दै आएको छ। यो अभियानलाई देशव्यापी बनाउन लागिएको र थप समर्थन जुटाउने तयारीमा रहेको पार्टीको गतिबिधिले पनि आकल गर्न सकिन्छ ।







