बुढानीलकण्ठ, काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाले खहरे किनार अतिक्रमणमुक्त बनाउन निर्णायक कदम चालेको छ। बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १०, ११ र १२ अन्तर्गत आनिगुम्बादेखि आरम्भचोकसम्म खहरेको दायाँबायाँ अवैध रूपमा निर्माण गरिएका टहरा र संरचनाहरू एक साताभित्र हटाउन नगरपालिका वडा कार्यालयले अन्तिम चेतावनी दिएको छ।
२०७९ सालको बजेटमार्फत शुरु गरिएको वातावरणीय सुधार अभियान अन्तर्गत नगरपालिकाले अव्यवस्थित निर्माण, सार्वजनिक जमीन अतिक्रमण र प्राकृतिक बहाव अवरुद्ध गर्ने संरचनामाथि कडा निगरानी थालेको हो।
वडा नं. १२ को कार्यालयबाट असार २७ गते जारी गरिएको सूचना अनुसार —
“नेपाल सरकारद्वारा खहरे किनारमा बनाइएको ढुङ्गाको पर्खाल (वाल) भित्र पर्न आउने सबै खाले संरचनाहरू — जस्तै घर, कम्पाउण्ड पर्खाल, गेट, टहरा आदि — सात दिनभित्र स्वयम् हटाउन अनुरोध गरिन्छ। समयसीमा नपुगेमा वडा कार्यालय आफैंले उक्त संरचना हटाउनेछ।”
सूचनामा वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का अध्यक्ष राजु अधिकारी र वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई को संयुक्त हस्ताक्षर रहेको छ।
नगरपालिकाका वडाहरुका अनुसार खहरे किनारमा अवैध रूपमा बनाइएका संरचनाहरूले नगरको प्राकृतिक बहाव अवरुद्ध गरी बाढी र ढल व्यवस्थापनमा समस्या सिर्जना गरेका छन्। साथै, पर्यावरणीय जोखिम, सौन्दर्य विघटन, तथा सार्वजनिक सम्पत्तिको अतिक्रमणले दीर्घकालीन असर पार्न सक्ने जनाइएको छ।

रिपोर्टिङ: बागमती मञ्च डेस्क | बुढानीलकण्ठ







