झापा।
झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति ठूलो विमान दुर्घटना भएको छ। काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रन–वे पार गर्दै दुर्घटनामा परेको हो। दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
उक्त जहाज राति ९:१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको थियो। जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए।
दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ। उनी हाल भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचाररत छन्। अन्य घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र १६ वर्षीया प्रिया घतानी रहेका छन्। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
उक्त जहाज काठमाडौंबाट राति ८:२३ बजे उडेको थियो। दुर्घटनापछि प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली तत्काल उद्धारमा खटिएको थियो। प्रहरी टोलीले सबै यात्रुलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्दै घाइतेलाई अस्पताल पुर्याएको जनाएको छ।







