मलेसिया सरकारले कार्यरत सबै कामदारको न्यूनतम पारिश्रमिक (बेसिक सेलरी) बढाउने घोषणा गरेको छ। मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले अक्टोबर १८ तारिख शुक्रवार, क्वालालम्पुरको देवान राकयात हलमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण दिने क्रममा यो निर्णय सार्वजनिक गर्नुभएको हो।
प्रधानमन्त्री अनवर बिन इब्राहिमले आफ्नो भाषणमा मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिकमा सुधार गरिएको जानकारी दिनुभयो। उहाँले घोषणा गर्नुभएको अनुसार, हाल मासिक आरएम १५०० रहेको न्यूनतम पारिश्रमिकलाई आरएम २०० थप गरी अब आरएम १७०० पुर्याइएको छ। यो न्यूनतम पारिश्रमिक दिनको ८ घण्टा काम गरेबापत पाउने रकम हो।
यस निर्णयले मलेसियामा कार्यरत लाखौं कामदारहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।







