प्रतिनिधि सभाको आइतबारको बैठकले मिटरब्याज सम्बन्धी विधेयक पारित गरेको छ । बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा प्रस्तुत मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका थिए । यो विधेयक पारित भएसँगै अब अनुचित लेनदेनसँग सम्बन्धित कार्यमा कसुर लाग्ने छ ।
मिटरब्याज पीडितले आन्दोलन चर्काएपछि आन्दोलनरत पक्षसँगको सहमति अनुसार सरकारले यसअघि गत वैशाख २० गते पीडितलाई न्याय दिने भन्दै अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न असार ५ गते दर्ता भएको विधेयक असार १७ गते प्रतिनिधि सभामा पेस भएको थियो । असार २० गतेको कार्यसूचीमा विधेयक प्रस्तुत हुने उल्लेख भए पनि बैठक अवरुद्ध हुँदा अध्यादेशको कानुनी प्रावधान अनुसार विधेयक निष्क्रिय भएको थियो । शून्यतामा गएको विधेयक आइतबार पुन प्रतिनिधिसभामा प्रस्तुत भएर पारित भएको हो । प्रतिनिधि सभाबाट पारित विधेयक अब सन्देशसहित राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभाका अध्यक्षले प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाएर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाउने छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणिकरण भएपछि विधेयक कार्यान्वयनमा आउने छ ।
यो विधेयक पारित भएसँगै मिटरब्याज सम्बन्धी साहुलाई कानुनी कारबाही गर्ने बाटो खुलेको छ ।







