राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा देशको राजनैतिक माहोल तरंगित भएको छ। निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन्।
एकतर्फ एमाले नेतृत्वमा सरकारमा रहेको गठबन्धन छ भने अर्कोतर्फ काङ्ग्रेसको नेतृत्वमा गठबन्धन यहि सिलसिलामा विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबैजसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन्।
राष्ट्रपति पदका लागि निर्णायक मत भएका प्रधानमन्त्री प्रचण्ड आफै सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए। त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए। हिजै पुरोना गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी भए पनि समय नपुगेका कारण बस्न सकेन। आज बिहान ८ बजे पुरानो गठबन्धनका दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड जुटेका छन्।
हिजो साँझ सिंहदरबारमा बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान निर्णायक बैठक हुने बताएका थिए। प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेका छन्।







