काठमाडौं, विजयादशमीको अवसरमा नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। आज दिनभर काठमाडौंका दुई मुख्य रुटमा बस सेवा उपलब्ध हुनेछ, जसले गर्दा नागरिकहरूले टीका थाप्न र अन्य अत्यावश्यक कामका लागि सजिलै यात्रा गर्न सकून्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले जनाए अनुसार, सार्वजनिक यातायातको न्यून उपस्थितिले यात्रामा समस्या नहोस् भन्ने उद्देश्यले यो सेवा प्रदान गरिएको हो। “आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले गर्दा नागरिकलाई टीका थाप्न र अत्यावश्यक काममा अवरोध हुनसक्छ। यसै कारणले यो योजना अघि सारिएको हो,” डिआईजी कार्कीले भने।
प्रहरी प्रधान कार्यालय नक्सालबाट छुट्ने दुईवटा बसहरू दुई फरक रुटमा चल्नेछन्। एउटा बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै नक्साल फिर्ता हुनेछ। अर्को बस रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ हुँदै नक्साल फर्कने छ।
यस निःशुल्क सेवा प्रयोग गरेर उपत्यकावासीहरूले टीका थाप्न र अन्य सामाजिक कार्यमा सहजता महसुस गर्ने अपेक्षा गरिएको छ।







