हालै भएको संवादमा विपक्षी दलका प्रतिनिधिहरूले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारीलाई प्रतिशोधको राजनीति भएको आरोप लगाए। विपक्षी दलले प्रधानमन्त्रीको कार्यशैलीलाई तानाशाही सोच रहेको भन्दै आलोचना गरेको थियो।
प्रधानमन्त्रीले भने आफूले कुनै पनि प्रतिशोधको राजनीति नगरेको स्पष्ट पारे। उनले रवि लामिछानेको मुद्दामा संसदीय छानबिन समिति गठन गर्न आफूले विरोध गरेको भए पनि, अन्य दल र स्वयं रवि लामिछानेले समिति गठनको पक्षमा रहेपछि समिति बनेको बताए। प्रधानमन्त्रीले समितिको प्रतिवेदन आएपछि सरकारको दायित्व बमोजिम त्यसको कार्यान्वयन गरिएको जिकिर गरे।
तानाशाही आरोपलाई खण्डन गर्दै प्रधानमन्त्रीले भने, “मलाई अनावश्यक गालीगलौज गरिएको छ तर थप तिक्तता नहोस् भनेर मैले कुनै प्रतिक्रिया दिएको छैन। विधि र पद्धतिलाई मान्नुपर्छ, लोकतान्त्रिक पद्धति कायम रहनुपर्छ।”
विपक्षीहरूले राजनीतिका लागि ल्याइने अध्यादेशहरूको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले विगतमा एमालेलाई विभाजन गर्न ल्याइएको अध्यादेशले केही साथीहरूलाई चिन्ता भएको बताए। तर, उनले अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना नरहेको स्पष्ट पारे।
मनसुनजन्य विपद्को विषयमा पनि प्रधानमन्त्रीले राहत र पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको बताए। घाइतेहरूको निःशुल्क उपचारदेखि राजमार्गहरू खुलाउन बेलिब्रिजहरूको प्रयोग गरिएको र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जानकारी गराए। प्रधानमन्त्रीले विपदको अवस्थामा कुनै राजनीति नगर्न र मिलेर काम गर्न आग्रह गरे।







