शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले सरकार असफल भएको निष्कर्ष निकालेको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहका अनुसार बैठकले विपद्को समयमा सरकारको भूमिका कमजोर रहेको, उद्धार र राहतमा कुनै ठोस कदम नचालेको, तथा विदेश भ्रमणमा मस्त रहेको निष्कर्ष दिएको छ। साथै, सरकार साना दलहरूलाई कमजोर बनाउन अध्यादेश ल्याउन खोजिरहेको र तर्साउने प्रयास गरिरहेको बैठकले औंल्याएको छ।
बैठकमा सहभागी दलहरूले बाढी पहिरोको व्यवस्थापनमा सरकारको तयारी, खोज, उद्धार, उपचार र पुनर्स्थापनामा जिम्मेवार नदेखिएको आरोप लगाएका छन्। यस्तै, सरकारले निहीत स्वार्थ र पार्टीगत प्राथमिकतालाई अघि सारेको महसुस गरिएको छ। बैठकले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने निर्णय गरेको छ।
प्रचण्डको नेतृत्वमा बसेको बैठकले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै, सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेमा त्यसको कडा विरोध गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न सरकारमाथि दबाब दिएको बुझिएको छ।







