सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुइ वा दुइ भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समुह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो। सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूंजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।
सहकारीको उद्देश्य यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो।न्यायिक उद्देश्य उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । आर्थिक उद्देश्यमा सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो।
सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाई जात-जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरूपले आर्थिक कारोवार गर्ने,बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ। सामाजिक उद्देश्यमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ, शैक्षिक उद्देश्य आफ्ना सदस्यहरूको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ।







