स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले राष्ट्रिय सहकारी बैंकमा सदस्य भए सहकारी संघ/संस्थाका लागि सहकारी पहिचान सहितको कोअप कार्ड जारी गर्ने भएको छ । कार्ड जारी गर्नका लागि राष्ट्रिय सहकारी बैंक, ग्लोबल आइएमई बैंक र एससीटी बीच आज त्रिपक्षीय सम्झौता भएको हो ।
हालसम्म एक सय भन्दा बढी सहकारीलाई एटीएम कार्ड सेवा दिईरहेको एससीटीले सहकारी बैंकमा आवद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको कोअप कार्ड जारी गर्नलागेको हो ।
एससीटीले युनियन पे संग सहकार्य गरेर प्रदान गर्ने कोअप कार्डमा अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने जनाएको छ । साथै यस्तो कार्ड नेपाल र भारतका एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्न सकिने जनाएको छ ।
सम्झौता पश्चात राष्ट्रिय सहकारी बैंकमा आवद्ध सहकारी संघ÷संस्थाले बैंकमा सम्पर्क गरेर कोअप कार्ड जारी गर्न सक्ने भएका छन् ।
कोअप कार्डको प्रयोग गर्ने सहकारीका सदस्यले आफ्नो खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएम मार्फत रकम निकाल्न र पीओएसको माध्यमबाट कुनै सेवा वा बस्तु खरिद गर्न सक्नेछन् ।
बैंकको कुपण्डोल स्थित कार्यालयमा आयोजित एक कार्यक्रममा एससीटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं र ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यलृ सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।







