अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । सारुकको निधनको १४औं दिनमा बुधबार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरिन लागिएको हो । सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनमा सहभागी हुनका लागि अभिनेत्री सृष्टि श्रेष्ठलगायतका कलाकारहरुले एक पोस्टमार्फत् आग्रह गरेका छन् ।
‘यस शान्ति भेलामा, हामी मक्खन बत्ती र मैनबत्तीहरू प्रज्वलन गर्नेछौं । शान्तिको क्षेत्रमा सारुकको यात्रा ज्योतिको प्रतीक हुनेछ,’ सारुकको सम्झनामा आयोजना हुन लागेको दीप प्रज्वलनबारे जानकारी दिन तयार पारिएको एक पोस्टरमा भनिएको छ, ‘आउनुस् हामी सारुकसँगका यादलाई सम्झियौं र सामूहिक रूपबाट उसको शान्तिपूर्ण यात्राका लागि आफ्नो प्रेम तथा शुभकामना पठायौं ।’
साँझ ६ बजेदेखि ७ बजेसम्म दीप प्रज्वलन गरिने जनाइएको छ । दीप प्रज्वलनमा सारुकको न्यायका लागि आवाज उठाउँदै उचित छानबिनको माग गरिरहेका कलाकारहरु सहभागी हुने जानकारी प्राप्त छ । अहिले प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अनुसन्धानका लागि उनको घर अगाडिको सिसी क्यामेराको फुटेज लगिसकेको छ ।







