मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि आएको पहिरोका कारण यस मार्गमा यातायात बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय बासिन्दा, प्रहरी तथा सडक डिभिजन कार्यालयका प्राविधिकहरू पहिरो पन्छाउने प्रयासमा जुटेका छन्। काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारी साधनलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, पहिरोका कारण अवरुद्ध रहेको कान्तिलोकपथ खण्ड अझै खुल्न सकेको छैन। बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा गएको पहिरोले सो मार्ग अवरुद्ध भएको हो। सो क्षेत्रमा पनि पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ।
तर, हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड, तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा रहेको छ।







