मकवानपुर प्रहरीले ठूलो सफलतामा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा भारतीय नागरिक सुजित सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनि बिहार राज्यको फूलबरिया पूर्वी चम्पारण बरेवाका निवासी रहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफको शरीर र झोलामा खानतलासी गर्दा उनको खुट्टाको पैतलाको भागमा कालो टेपले बेरेको सुनजस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ।
प्रहरीले सर्राफको साथबाट चार थान बिस्कुटको आकारको टुक्रा, एक थान बिस्कुटको सानो टुक्रा र एक थान सिक्री गरी कुल ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ। बरामद गरिएको सुनको बजार भाउ मङ्गलबारको अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ।







