काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा आविष्कारक महावीर पुन अन्तरिम सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना बढेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा पुनलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतहरूले जनाएका छन् ।
यस सम्बन्धमा प्रधानमन्त्री कार्यालय (बालुवाटार) मा छलफल भइरहेको र औपचारिक घोषणा चाँडै हुने अपेक्षा गरिएको छ । केही सञ्चारमाध्यमले पुनले पनि शिक्षा र प्रविधि क्षेत्रमा दीर्घकालीन अनुभवका आधारमा मन्त्रालय सम्हाल्न इच्छुकता देखाएको उल्लेख गरेका छन् ।
म्याग्दी नाङ्गी गाउँका निवासी पुनले लामो समयदेखि आविष्कार, अनुसन्धान र प्रविधि विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । दुर्गम गाउँहरूमा इन्टरनेट पुर्याउने नेपाल वायरलेस परियोजना बाट विश्वव्यापी ख्याति कमाएका पुनले पछिल्ला वर्षमा राष्ट्रिय आविष्कार केन्द्रमार्फत ऊर्जा, प्रविधि र अनुसन्धान क्षेत्रमा योगदान दिँदै आएका छन् ।
स्रोतका अनुसार, अन्तरिम सरकारले पुनलाई शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयमार्फत “शिक्षा प्रणाली सुधार, अनुसन्धान प्रवर्द्धन र प्रविधिको प्रभावकारी उपयोग” मा जोड दिने अपेक्षा गरिएको छ ।







