काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रवार) बजेट प्रस्तुत गर्दैछ ।
दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याउन लागेको यो पहिलो बजेट हो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटभन्दा २ देखि ३ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी गरेका छन् । यस वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि (आईटी), रोजगारी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने सरकारको तयारी छ ।








