‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसहित केही व्यक्तिमाथि अनुसन्धान अघि बढाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सुझाव दिएको छ ।
गत ०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देखिएका मानव अधिकार उल्लंघनका विषयमा अध्ययन गर्न आयोगले यसअघि विशेष छानबिन समिति गठन गरेको थियो । आयोग सदस्य लिली थापाको नेतृत्वमा बनेको उक्त समितिले आफ्नो प्रतिवेदनमार्फत सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय तथा रवि किरण हमालको नाम उल्लेख गर्दै उनीहरूको भूमिकाबारे थप अनुसन्धान गर्न सिफारिस गरिएको जनाएको छ ।
त्यसैगरी चलचित्र निर्देशक निश्चल बस्नेत माथि पनि अनुसन्धान गर्न सुझाव दिइएको छ । आन्दोलनलाई थप उक्साउने वा प्रदर्शन चर्काउन सहयोग पुगेको आशंकाका आधारमा उनीहरूमाथि छानबिन गर्नुपर्ने आयोगको ठहर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।








