–सुवास श्रेष्ठ–
काठमाडौँ,२०८२ कार्तिक ०१
हेन्ली एन्ड पाटनरस द्वारा प्रकाशित २०२५ को हेन्ली पासपोर्ट इन्डेक्स अनुसार, नेपालको पासपोर्ट विश्वमा १०१औँ स्थानमा पुगेको छ। यस सूचकाङ्कका आधारमा नेपाली नागरिकले करिब ३९ देशमा भिसा–रहित वा भिसा–अन–अराइभल सुविधा पाउने भएका छन्।
यो सूचीमा नेपालभन्दा माथि भारतको पासपोर्ट ८३औँ स्थानमा रहेको छ भने दक्षिण एसियामा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर र जापानको मानिएको छ। गत वर्ष नेपालको स्थान १०५औँ थियो, यस वर्ष केही सुधार आएको छ, जसले अन्तर्राष्ट्रिय भ्रमणमा सहजता बढाउने संकेत दिएको छ।
हेन्ली पासपोर्ट इन्डेक्स मूल्याङ्कन कसरी गर्छ?
हेन्ली पासपोर्ट इन्डेक्स विश्वका १९९ देशका पासपोर्टलाई आधार मानेर वार्षिक मूल्याङ्कन गर्छ। यसमा प्रत्येक देशका नागरिकले कति देशमा बिना भिसा प्रवेश गर्न सकिन्छ भन्ने आधारमा रैंक निर्धारण गरिन्छ। मूल्याङ्कनमा केवल सामान्य नागरिक पासपोर्टलाई आधार मानिन्छ; डिप्लोमेटिक वा सेवा पासपोर्टलाई समावेश गरिँदैन। रैंक निर्धारणका लागि आइता टाइमाटिक डाटाबेस प्रयोग गरिन्छ।
नेपालको पासपोर्ट कमजोर हुनुका मुख्य कारण:
द्विपक्षीय भिसा सम्झौताहरूको अभाव।
आन्तरिक राजनीतिक अस्थिरता र सुरक्षा चिन्ता।
आर्थिक र विकासका सूचकांक कम हुनु।
कूटनीतिक सम्बन्धहरू कमजोर हुनु।
विशेषज्ञहरूका अनुसार, यी क्षेत्रहरूमा सुधार भएमा नेपाली नागरिकले थप भिसा–रहित पहुँच पाउने सम्भावना रहनेछ।







