काठमाडौँ, असार २५ — चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा आज राति १२ बजेदेखि एक साताका लागि सबै सरकारी खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका) का अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० मा भएको कानुनी व्यवस्थाअनुसार यो कदम चालिएको हो।
मलेनिकाकी प्रवक्ता सुशीला अर्यालका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा सिर्जना भएका दायित्वहरूको भुक्तानीका लागि आज अन्तिम दिन हो। आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (TSA), र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (Sigas) एक साताका लागि बन्द हुनेछन्।
उनले भनिन्, “कानुन अनुसार आर्थिक वर्ष सकिनु सात दिन अघिदेखि अत्यावश्यक बाहेकका सबै भुक्तानी बन्द गर्नुपर्ने व्यवस्था भएकाले यसपालि खाता रोक्का गर्न परिपत्र पठाइएन।”
यसअघिका वर्षहरूमा असारको अन्तिम साता मात्रै खाता रोक्ने चलन भए पनि अब बाध्यकारी कानुनी व्यवस्था अनुसार काम हुन थालेको उनले स्पष्ट पारिन्। आवश्यक खर्चका लागि मलेनिकाको स्वीकृति आवश्यक हुनेछ।
महालेखा नियन्त्रक कार्यालयले दिएको तथ्याङ्कअनुसार मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत पुगेको छ। चालु खर्च ८४ प्रतिशत, पुँजीगत खर्च ५३ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत खर्च भएको छ।
थप विवरण र अपडेटका लागि हामीसँगै रहनुहोस्।







