सुवास श्रेष्ठ
काठमाडौं, कात्तिक २ —
गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको “क्रिमिनल नेग्लिजेन्स” (आपराधिक लापरबाही) का कारण भदौ २३ र २४ गतेको घटना भएको दाबी गरेका छन्। उनले ओलीले सो घटनापूर्व देशको संवेदनशील अवस्थामा सुरक्षा संयन्त्रका सिफारिस र सुझावलाई बेवास्ता गरेको एक अन्तरवार्तामा बताएका छन्।
गृहमन्त्री अर्यालले एक अन्तरवार्तामा भने, “यदि केपी ओलीले एकदिन अगाडि नै राजीनामा दिएको भए, त्यस्तो ठूलो घटना हुने थिएन। त्यो बेला हामी ‘न्यासनल सेक्युरिटी क्राइसिस’ अर्थात् राष्ट्रिय सुरक्षाको गम्भीर संकटबाट गुज्रिरहेका थियौं। अहिले देश सामान्य अवस्थामा फर्किएको छ, तर त्यो समयको संकट बिर्सनु हुँदैन।”
उनका अनुसार भदौ २३ र २४ गते देश असामान्य अवस्थाबाट गुज्रिरहेको थियो। “त्यो बेला जस्तै अवस्था आज आएको भए के हुन्थ्यो ” उनले भने।
गृहमन्त्री अर्यालका भनाइमा, ओलीले भदौ २३ गतेकै दिन राजनीतिक बयानबाजी र उत्तेजनात्मक वक्तव्यहरू दिएर परिस्थितिलाई भड्काउने काम गरेका थिए। उनले थपे, “त्यो बेला केपी ओलीले सुरक्षा संयन्त्रले दिएको सल्लाह नमान्ने, उल्टै स्थितिलाई चर्काउने काम गरेका थिए। त्यसकै परिणामस्वरूप २४ गते महाबितन्ड मच्चिएको हो । सो दिन देशको सर्बोच्च अदालत र संसद भवन जलेको लगायत देश कोलाहलको अवस्था थियो साथै र ७० जना जतिको मृत्युहुने परिस्थिति बनेको थियोे लगायतका घटनाहरू मच्चिएका हुन्।”
गृहमन्त्रीले ओलीमाथि राष्ट्रिय सुरक्षालाई बेवास्ता गरी राजनीतिक स्वार्थका लागि अस्थिरता निम्त्याएको आरोप लगाएका छन्। उनका अनुसार, सो समयमा सरकारको प्राथमिकता सुरक्षालाई सुदृढ बनाउनु र संकट न्यूनिकरण गर्नु थियो, तर त्यसमा ओलीको “क्रिमिनल नेग्लिजेन्स” ले थप चुनौती सिर्जना गरेको हो।







