काठमाडौं । बागमती प्रदेश सभाका सदस्य वसन्त मानन्धरले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिँदै काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका छन्। जनताको आवाज निर्णायक तहमा उठाउन संघीय संसदमा पुग्नुपर्ने आवश्यकता महसुस भएको बताउँदै उनले उम्मेदवारी अघि सारेका हुन्।

आइतबार काठमाडौंमा जारी अपिलमार्फत मानन्धरले प्रदेश सभामा रहँदा आफूले जनताले सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। प्रदेश तहबाट सम्भव भएका नीति, कार्यक्रम तथा जनसरोकारका विषयहरूमा आवाज उठाउन पाएकोमा गर्व महसुस गरेको उनको भनाइ छ।

मानन्धरले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको संवेदनशील चरणमा तत्कालीन सरकारका जनविरोधी निर्णय, राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ तथा अहंकारका कारण जनतामा बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसकिएको आरोप लगाएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेन्जी पुस्ताले उठाएको आवाजलाई शासक पक्षले सुन्न नसकी दमनको नीति अपनाएको उनले बताएका छन्।

जेन्जी आन्दोलनपछिका घटनाक्रममा जिम्मेवार जनप्रतिनिधिको हैसियतले जनताको समस्या र आवाज उठाउन प्रदेश सभाको बैठक बोलाउन पटक–पटक अनुरोध गर्दा पनि कांग्रेस–एमाले गठबन्धन सरकारले गम्भीरतापूर्वक नलिएको मानन्धरको भनाइ छ। प्रदेश सभालाई जनताको आवाज उठाउने थलोभन्दा पनि औपचारिकतामा सीमित बनाइएको उनको आरोप छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै अब संघीय संसदमा पुगेर जनताको साथ, समर्थन र भरोसासहित अझ जिम्मेवार नेतृत्व प्रदान गर्ने उद्देश्यले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएको उनले बताएका छन्।

संघीय संसदमा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने, नीति निर्माणको केन्द्रीय तहमा जनजीविकाका सवाल स्थापित गर्ने, संविधानको मर्मअनुसार संघीयतालाई बलियो बनाउने कानुन निर्माण गर्ने, सहकारीमा जम्मा भएको जनताको बचत रकम छिटो फिर्ता गराउने, महँगी र बेरोजगारी नियन्त्रणका लागि बनेका नीतिहरू कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने तथा कुशासन र भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

दलगत बैरभावभन्दा माथि उठेर पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्ने बताउँदै मानन्धरले आम मतदाता तथा सरोकारवाला संघ–संस्थासँग सहकार्यलाई मजबुत बनाउने बताएका छन्।

काठमाडौं क्षेत्र नं. ७ अन्तर्गत काठमाडौं महानगरपालिका १६, १७, १८, २५, तारकेश्वर नगरपालिका ३, ४, ५ तथा नागार्जुन नगरपालिका १, २, ३ समेटिएको यस क्षेत्रमा कुल ६७ हजार ४११ मतदाता रहेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रको रक्षा र संसदभित्र देखिएको अराजकता तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउन तारा चिन्हमा मतदान गर्न मानन्धरले मतदातासँग अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय