बागमती मन्च ।
अमेरिकी प्रतिबन्ध र नाकाबन्दीको छायाँबीच एक चिनियाँ ट्यांकरले विश्वकै संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज पार गरेको खुलासा भएको छ—जसले अन्तर्राष्ट्रिय समुद्री राजनीति फेरि एकपटक तातिएको संकेत दिएको छ।
समुद्री ट्र्याकिङ सेवा मरिन ट्राफिकको तथ्यांकअनुसार उक्त ट्यांकर मंगलबार बिहानै होर्मुज जलडमरु काट्दै अघि बढेको देखिएको हो। मालावीको झण्डा फहराइरहेको जहाज सोमबार नै त्यही मार्ग पार गर्न खोजेको थियो, तर इरानको केशम द्वीप नजिकै पुगेर अकस्मात् फिर्ता भएको थियो।
तर, दोस्रो प्रयासमा भने जहाज सफल रह्यो—नाकाबन्दीको घेराभित्रैबाट निस्कँदै चीनतर्फ सोझिएको छ।
यो घटनालाई अझ चासोयोग्य बनाउने पक्ष के छ भने, होर्मुज क्षेत्रमा अमेरिका सोमबारदेखि औपचारिक रूपमा नाकाबन्दी घोषणा गरिसकेको छ। यस्तो अवस्थामा ‘प्रतिबन्धित’ सूचीमा परेको ट्यांकरले सो मार्ग पार गर्नु रणनीतिक चुनौतीका रूपमा हेरिएको छ।
डाटा विश्लेषण कम्पनी केप्लरका अनुसार उक्त जहाजले मिथानोल बोकेको छ। ऊर्जा र रासायनिक उद्योगमा प्रयोग हुने यो पदार्थको आपूर्ति र व्यापारसँग जोडिएको संवेदनशीलता पनि यस घटनामा जोडिएको छ।
फूल स्टार शिपिङ लिमिटेडको स्वामित्वमा रहेको र शङ्घाई जुआनरुन शिपिंग कम्पनी लिमिटेडसँग सम्बन्धित यो ट्यांकरमाथि अमेरिका सन् २०२३ देखि नै प्रतिबन्ध लगाउँदै आएको छ। इरानसँग सम्बन्ध रहेको आरोपका कारण उक्त जहाजलाई ‘ब्ल्याकलिस्ट’ गरिएको थियो।







