काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ बाट संघीय सांसद पदका उम्मेदवार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हिमाल शर्माले युवालाई रोजगारी उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
शर्माले सरकारले सबै नागरिकलाई रोजगारी दिन नसकेको अवस्थामा बेरोजगार भत्ता प्रदान गर्नुपर्ने स्पष्ट धारणा राखे। उनले रोजगारी र सामाजिक सुरक्षालाई आफ्नो राजनीतिक एजेन्डाको मूल केन्द्रमा राखेको बताए।
विद्यार्थी राजनीतिबाट उदाएका शर्माले २०६२ सालमा स्ववियु सभापति रहँदा उठाएका मुद्दा र वर्तमान पुस्ताले उठाइरहेको जेन्जी आन्दोलनका मागहरूबीच सारभूत समानता रहेको उल्लेख गरे। समय परिवर्तन भए पनि युवाका आधारभूत अपेक्षा र संघर्ष उस्तै रहेको उनको भनाइ छ।
काठमाडौं क्षेत्र नं. ६ प्रति विशेष आत्मीयता र सम्मान रहेको उल्लेख गर्दै शर्माले सशस्त्र द्वन्द्वकालमा यही क्षेत्रमा २७ महिनासम्म आँखा कालोपट्टी लगाइ हातकडी तथा नेलले बाँधिएको अवस्थामा थुनामा राखिएको आफ्नो अनुभव सार्वजनिक गरे। उक्त कठिन समयले आफूलाई जनताको दुःख–पीडासँग नजिक बनाएको उनले बताए।
“म निर्वाचित भई संसद् पुगे भने जनताको आवाज प्रतिनिधित्व गर्ने मात्र होइन, त्यसलाई नीति, कार्यक्रम र कार्यान्वयनमा रूपान्तरण गराउनेछु,” शर्माले प्रतिबद्धता जनाए।
उनका प्रमुख एजेन्डामा प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको बहस, विष्णुमती–साङगले खोलाको अवस्था सुधार तथा सार्वजनिक जग्गाको संरक्षण रहेका छन्। ती विषयलाई राष्ट्रिय नीति निर्माणको तहसम्म पुर्याउने उनको लक्ष्य रहेको छ।
काठमाडौं क्षेत्र नं. ६ को समग्र विकास, सुशासन र जनसेवामा आफू पूर्ण रूपमा समर्पित रहने शर्माले स्पष्ट पारे।








