काठमाडौं, कात्तिक। बागमती प्रदेशका जिल्ला बचत संघहरूको नेतृत्वले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष सिए प्रविण कुमार झा सहितका पदाधिकारीहरूसँग भेट गरी लेखापरीक्षण शुल्क पुर्नविचार गर्न अनुरोध गरेका छन्। यस भेटमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, र मकवानपुर जिल्ला बचत संघका अध्यक्ष र व्यवस्थापन प्रमुखहरूको उपस्थिती रहेको थियो।
सिए प्रविण कुमार झासँग भएको छलफलमा आईक्यानले जारी गरेको लेखाव्यवसायी फर्मको मापदण्ड तथा शुल्क सम्बन्धी निर्देशिका २०७८ मा असामान्य रुपमा वृद्धि भएको लेखापरीक्षण शुल्कको बारेमा चर्चा गरियो। जिल्ला बचत संघहरूले यो वृद्धि न्यायोचित नभएको निष्कर्ष निकाल्दै, यसलाई पुर्नविचार गर्न आईक्यानलाई औपचारिक रूपमा अनुरोध गरेका हुन्।
भेटमा सहकारीहरूले सामना गरिरहेको चुनौती, लेखापरीक्षण प्रतिवेदनको गाम्भिर्यता, र सहकारी अभियान तथा आईक्यान बीचको सहकार्यको सम्भावनाहरूमा पनि छलफल भएको थियो। छलफलपछि, आईक्यानका अध्यक्ष झाले सहकारी अभियानको मागलाई परिषद्मा छलफल गरी सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन्।
यस कदमलाई सहकारी क्षेत्रले अत्यन्त महत्त्वपूर्ण रूपमा हेरेको छ, जसले लेखापरीक्षण शुल्कमा भएको असमान वृद्धिले पारेको प्रभावलाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ।







