बूढानीलकण्ठ काठमाडौ / बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चामा मापदण्ड विपरीत निर्माण गरिएका पर्खाल र टहरा आज नगर प्रहरीको सहयोगमा हटाइएको छ।
वडाध्यक्ष टिकेश नारायण श्रेष्ठका अनुसार सो क्षेत्रमा धेरै समयदेखि सार्वजनिक बाटो अतिक्रमण गरेर अवैध संरचना बनाइएको थियो। स्थानीय तहबाट पटक–पटक छलफल, सूचना र जानकारी दिइए पनि अटेरी भएको कारण, अन्ततः आज नगर प्रहरीको परिचालन गरि अवरोध हटाइएको हो।
“पहिलोपटक छलफल, दोस्रोपटक जानकारी, तेस्रोपटक सूचना—सबै प्रक्रिया अपनायौं। तर कुनै सुनुवाइ नभएपछि नियमअनुसार आदेश कार्यान्वयन गर्न बाध्य भयौं,” अध्यक्ष श्रेष्ठले बताए।उनका अनुसार यो कार्य आम जनताको सहज आवागमन सुनिश्चित गर्न गरिएको हो। “जनताको लागि बाटो खुला होस् भनेर गरेको काम हो, यो राजनीतिक प्रचारको लागि होइन,” अध्यक्ष श्रेष्ठले स्पष्ट पारे।
वडा कार्यालयले सबै स्थानीयवासीलाई यस्ता सार्वजनिक सरोकारका काममा सहयोग गर्न आग्रह गर्दै, अवरोध सिर्जना नगर्न अनुरोध समेत गरेको छ।







