काठमाडौं, असार २४, 

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिवको उत्पत्तिसँग सम्बन्धित एक नयाँ व्याख्या प्रस्तुत गर्दै चाम्लिङ समुदायसँग जोडिएको धारणा सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शिवजीले बसोबास गरेका भनिएका ओडारहरू हालको हलेसी क्षेत्रमा रहेको उल्लेख गर्दै हलेसी चाम्लिङहरूको थलो भएको बताए। सोही सन्दर्भमा उनले भगवान शिव पनि चाम्लिङ समुदायका हुनसक्ने आफ्नो व्यक्तिगत अनुमान व्यक्त गरे।

“शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौं हामी। शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो लाग्छ कहिलेकाहीँ। त्यो चाम्लिङको थलो हो। हलेसी भनेको चाम्लिङको थलो हो,” प्रधानमन्त्री ओलीले भने।

यद्यपि उनले उक्त कुरा पुष्टि गर्न नसकिने भन्दै स्पष्ट रूपमा “यो मेरो दाबी होइन, अनुमान मात्रै हो” भन्दै सावधानी अपनाएका छन्। उनले थपे, “माइग्रेशन र मिक्सअपका कारण पनि सम्भवतः इतिहासमा फेरबदल भएको हुनसक्छ। तर त्यो भेग (हलेसी) चाम्लिङहरूको हो भन्नेमा मेरो बुझाइ छ।”

प्रधानमन्त्री ओलीले यसअघिका भाषणहरूमा पनि वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको दाबी गर्दै आएका छन्। यसपटक उनले धार्मिक मिथक र आदिवासी पहिचानबीच सम्बन्ध स्थापित गर्ने प्रयास गरेका हुन्।

यस अभिव्यक्तिपछि सामाजिक सञ्जाल र सार्वजनिक बहसमा प्रधानमन्त्री ओलीको भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्। कतिपयले यसलाई आदिवासी समुदायको पहिचानप्रतिको सकारात्मक चासोको रूपमा लिए पनि, कतिपयले भने यसलाई ऐतिहासिक र धार्मिक तथ्यहरूमाथि आधारित नभएको टिप्पणी गरेका छन्।

 हलेसी (हलेसी–मार्तिके) खोटाङ जिल्लामा रहेको एक प्रसिद्ध धार्मिक स्थल हो, जहाँ हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरू श्रद्धापूर्वक पूजा गर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय