काठमाडौं, साउन २८ — अर्थतन्त्र सुस्त भए पनि सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो तथा उदार मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गर्नुभएको यो नीति मौद्रिक उपकरणको खुकुलो प्रयोग, निजी क्षेत्रको पुँजी निर्माण तथा समस्याग्रस्त क्षेत्रलाई सहुलियत दिनेगरी तर्जुमा गरिएको हो।
नयाँ मौद्रिक नीतिअन्तर्गत राष्ट्र बैंकले ब्याजदरमा उल्लेखनीय कटौती गरेको छ।
- बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत,
- निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.२५ प्रतिशत,
- नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइएको छ।
गभर्नर पौडेलका अनुसार, सरकारले लक्ष्य गरेको ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न तथा मुद्रास्फीति ५ प्रतिशत हाराहारीमा राख्न यो नीति बनाइएको हो।
निजी क्षेत्रमा जान कर्जाको वृद्धिदर १२ प्रतिशत रहने अनुमान गरिएको छ। ब्याजदर घटेको भए पनि निजी क्षेत्र अझै लगानीप्रति उत्साहित नभएको अवस्थामा राष्ट्र बैंकले कर्जाको पहुँच, गुणस्तर वृद्धि र अधिकेन्द्रीकरण नियन्त्रणमा प्राथमिकता दिई मौद्रिक र नियामकीय संयन्त्रहरूलाई समन्वयमा ल्याएको उल्लेख गरिएको छ।
सेयर र घरजग्गा क्षेत्रमा कर्जा सीमा बढ्यो
एकल सेयर कर्जाको सीमा १५ करोडबाट बढाएर ३५ करोड रुपैयाँ बनाइएको छ। निजी आवासीय घर खरिद तथा निर्माणमा प्रवाह हुने कर्जा २ करोडबाट ३ करोड पुर्याइएको छ।पहिलो पटक सुविधा लिनेहरूलाई ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरिएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मौद्रिक नीति लचिलो आएको भन्दै घरजग्गा र पूँजी बजार चलायमान हुने आशा व्यक्त गर्नुभयो। उहाँले “उद्योगका समस्यातर्फ पनि केही सम्बोधन भएकाले नीति सकारात्मक र आशावादी देखिन्छ,” भन्नुभयो।
बैंक र वित्तीय क्षेत्रको दृष्टिकोण
एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले ब्याजदर कोरिडोरमा गरिएको सुधार र सेयर तथा घर खरिदमा दिइएको सहुलियतले तरलता व्यवस्थापनमा राहत दिने बताउनुभयो। तर, पुँजी पलायनको जोखिमलाई पनि ध्यान दिनुपर्ने उहाँको टिप्पणी छ।
- बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिमा सहजीकरण गरिनेछ।
- निष्क्रिय कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि नयाँ कम्पनी गठन गर्न आवश्यक कानुन तथा नियमको मसौदा सरकारले बुझाउने उल्लेख छ।
यो मौद्रिक नीति आशावादी, सहुलियतयुक्त र प्रोत्साहनमुखी भएको बताइँदैछ। निजी क्षेत्रको लगानी आकर्षित गर्ने र अर्थतन्त्रलाई फेरि गतिको दिशामा डो-याउने रणनीतिका साथ राष्ट्र बैंकले सुधारको सन्देश दिएको छ।
ब्यूरो रिपोर्ट | बागमती मञ्च







