काठमाडौँ । नेपालमै पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजनामा चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा उक्त तालिम सुरु गरिएको हो।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि घनिभूत तालिम प्रदान गरिँदैछ। तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी विशेष रूपमा नेपाल आएका छन्।
भरत रेड्डीको नाम ‘थ्री इडियट्स’, ‘सैयारा’, ‘पुष्पा’, ‘सितारे जमीन पर’, ‘थामा’, ‘धुरन्धर’ तथा आउन लागेको ‘टक्सिक’ जस्ता चर्चित भारतीय चलचित्रहरूसँग जोडिएको छ। उनी डल्बी सर्टिफाइड ट्रेनरसमेत हुन्।
तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले भरत रेड्डीलाई फूलको गुच्छा र Filming in Nepal पुस्तक प्रदान गर्दै नेपालमा स्वागत गरेका थिए। सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गरे।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो।
घनिभूत तालिम सम्पन्न भएपछि माघ २ गते पिङ्गलास्थान, गौशाला, काठमाडौँमा नेपाली चलचित्रकर्मीहरूको उपस्थितिमा स्टुडियोको औपचारिक उद्घाटन गरिने म्युजिक नेपालले जनाएको छ।
यो स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले चलचित्र हेर्दा विदेशी चलचित्रसरह उच्चस्तरीय र जीवन्त साउन्ड अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।







