नेपाल र टर्की बीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण प्रगति देखिएको छ। नारायण प्रसाद दाहाल र नुमान कुर्तुलमुस बीच भएको उच्चस्तरीय भेटवार्तामा नेपालमा टर्की दूतावास स्थापना गर्ने विषय प्रमुख एजेन्डाका रूपमा उठाइएको छ।
इस्तानबुल मा आयोजित इन्टर पार्लिमेन्ट युनियन एसेम्बलको साइडलाइनमा भएको उक्त छलफलमा दाहालले नेपाल–टर्कीबीचको करिब ६ दशक लामो सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालमै टर्की दूतावास स्थापना गर्न आग्रह गरेका थिए।
यस प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै टर्की संसदका सभामुख कुर्तुलमुसले टर्की सरकार यस विषयमा ‘पोजिटिभ’ रहेको स्पष्ट संकेत दिएका छन्। यदि यो पहल कार्यान्वयनमा आयो भने नेपाल–टर्की सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्लेषण गरिएको छ।
भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य अभिवृद्धि, अनुभव आदानप्रदान, शैक्षिक छात्रवृत्ति विस्तार तथा व्यापार वृद्धि जस्ता विषयमा सहकार्य बढाउनेमा पनि जोड दिइएको थियो।







