काठमाडौं । सरकारले विभिन्न देशका लागि रिक्त रहेका नेपाली राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेपछि कूटनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै योग्य र इच्छुक नेपाली नागरिकलाई राजदूत पदका लागि आवेदन दिन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रलाई प्रभावकारी बनाउन खुला प्रतिस्पर्धामार्फत सक्षम व्यक्तिको छनोट गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो। यसअन्तर्गत इच्छुक व्यक्तिले स्वयं आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार आवश्यक योग्यता पुगेका उम्मेदवारलाई छनोट प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ। आवेदन दिने व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत आफ्नो व्यक्तिगत विवरण तथा आवश्यक कागजात पेस गर्नुपर्नेछ। साथै मन्त्रालयले उपलब्ध गराएको इमेलमार्फत पनि आवेदन वा सिफारिस पठाउन सकिने बताइएको छ।

मन्त्रालयले जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकेको छ। निर्धारित म्यादपछि प्राप्त भएका वा आवश्यक प्रक्रिया पूरा नगरेका आवेदन भने अस्वीकृत हुने स्पष्ट गरिएको छ।

प्राप्त आवेदन तथा सिफारिसको आधारमा मन्त्रालयले प्रारम्भिक सूची तयार गरी योग्यता, अनुभव र उपयुक्तताको मूल्यांकनपछि ‘सर्टलिस्ट’ बनाउनेछ। त्यसपछि छनोटमा परेका उम्मेदवारलाई मात्रै थप प्रक्रियाका लागि सम्पर्क गरिने जनाइएको छ।

यद्यपि सरकारको यो प्रक्रियाप्रति केही राजनीतिक वृत्तबाट असन्तुष्टि पनि देखिएको छ। केही नेताहरूले राजदूत पदलाई “बैंकको सिइओ” जस्तो पद बनाएर प्रतिस्पर्धात्मक शैलीमा मात्र हेर्न नहुने टिप्पणी गरेका छन्। उनीहरूको भनाइमा कूटनीतिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान, राष्ट्रिय हितप्रतिको प्रतिबद्धता तथा वरिष्ठताको आधारलाई प्राथमिकता दिनुपर्ने हुन्छ।

उनीहरूले योग्य र अनुभवी कूटनीतिज्ञलाई नै प्राथमिकतामा राख्नुपर्ने भन्दै ‘सर्टलिस्ट’ प्रक्रियामा राजनीतिक प्रभाव नपर्न पनि सरकारलाई सचेत गराएका छन्।

राजदूत नियुक्तिलाई लिएर लामो समयदेखि राजनीतिक भागबन्डा, पहुँच र दलगत प्रभावको आरोप लाग्दै आएको अवस्थामा सरकारले सुरु गरेको यो खुला आवेदन प्रक्रियाले पारदर्शिता बढाउँछ कि अर्को विवाद जन्माउँछ भन्ने चासो समेत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय