काठमाडौँ, असार २५ — गण्डकी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीमा कार्यरत लेखा अधिकृत (आठौं तह) झलक शर्माविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा लेखा अधिकृत शर्माले २०५४ माघ ८ गतेदेखि २०८० मंसिर १० गतेसम्मको अवधिमा पदमा रही वैधानिक स्रोतबाट कमाएको आयभन्दा बढी रकम खर्च गरेको देखिएको उल्लेख गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार झलक शर्माको सो अवधिमा पारिश्रमिक, भत्ता, कृषिआय, जग्गा बिक्रीजस्ता स्रोतबाट भएको कुल आय ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ मात्र देखिएको हो। तर, उनी तथा उनको परिवारका नाममा रहेका बैंक खाता, शेयर, ऋण सापटी, सुनचाँदीका गरगहना, सवारी साधन खरिद, शैक्षिक खर्चसहित कुल खर्च ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँ बराबर देखिएको छ।
अर्थात् ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ बराबरको सम्पत्ति स्रोत पुष्टि नभएको भन्दै अख्तियारले सो रकम गैरकानुनी रुपमा आर्जन गरिएको सम्पत्ति ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (२) र अख्तियार ऐन, २०४८ को दफा २९(ख) बमोजिम कैद र जरिवाना सहितको सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो।
अख्तियारले उल्लेख गरेअनुसार सो गैरकानुनी सम्पत्ति झलक शर्माकी पत्नी हुमा कुमारी उपाध्यायको नाममा समेत देखिएको छ। त्यसैले जफतको प्रयोजनार्थ उनका नाममा रहेको सम्पत्तिसमेत मुद्दामा समावेश गरिएको छ।
झलक शर्मामाथि अब विशेष अदालतमा मुद्दाको सुनुवाइ हुनेछ। अख्तियारले यस्ता सरकारी कर्मचारीहरूलाई कडाइका साथ निगरानी गर्दै जाने स्पष्ट संकेतसमेत दिएको छ।







