बूढानीलकण्ठ नगरपालिका अन्तर रहेका दुई सहकारीले ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।बूढानीलकण्ठ नगरपालिकाको वडा नं ६ र ७ का वडाध्यक्ष सहकारी ठगी प्रकरणमा जोडिएका छन् । आफ्नो वडामा रहेका सहकारीमा ठगी गरेको आरोपमा प्रहरीले वडाध्यक्षलाई पक्राउ गर्नको लागि अदालतसँग अनुमति माग्दै चिठी पठाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गत फागुनमा नै उनीहरुलाई पक्राउ गर्नको लागि भन्दै अदालतमा पत्र लेखेको भेटिएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको भद्रकाली कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका वडा नं ७ का वडाध्यक्ष बसनारायण महर्जनलाई पक्राउ गर्न अनुमति मागिएको हो । त्यस्तै, सोही सहकारीमा सचिवको रुपमा रहेका रवि खड्कालाई पनि पक्राउ गर्न अनुमति मागिएको छ । उनी बुनपा वडा नं ६ का वडाध्यक्ष समेत हुन् ।
जिल्ला अदालत काठमाडौंलाई लेखेको पत्रमा प्रहरीले उनीहरुलाई छिट्टै पक्राउ नगर्ने हो भने उनीहरु भाग्न सक्ने सम्भावना रहेको भन्दै तत्काल पक्राउ गर्न अनुमति मागिएको छ । पत्र गत फागुन १७ गतेकाे भए पनि उनीहरू पक्राउ परेका छैनन् तथा नियमित वडा कार्यलयमा गैरहेका छन् ।
यस अघि बूढानीलकण्ठ नगरपालिकामा रहेको नया सन्देश बचत तथा ऋण सहकारीमा समेत संचालकहरुद्वारा आर्थिक हिनामिना गरिएको दोषी पाइएपछि केही संचालकहरु अहिले हिरासतमा रहेको छ ।








