टोखा काठमाडौं, बैशाख १६ — टोखा नगरपालिका वडा नं. १ कार्यालयले युवालाई लक्षित गरी बेसिक ईन्टरनेट ओफ थिङ्गतालिम सञ्चालन गर्ने भएको छ। वडाले सार्वजनिक सूचना जारी गर्दै इच्छुक युवालाई आगामी बैशाख २१ गतेभित्र आवेदन दिन आह्वान गरेको हो।
वडा कार्यालयका अनुसार एक महिनासम्म सञ्चालन हुने तालिममा दैनिक जीवनमा मोबाइल प्रयोगको समायोजन, आधारभूत इन्टरनेट पहुँच तथा उपकरण सञ्चालन (device handling) सम्बन्धी विषय समेटिनेछन्। तालिम दिउँसो २ बजेदेखि सुरु हुने जनाइएको छ।
कार्यक्रमका लागि २५ जना सहभागी छनोट गरिनेछ। आवेदन दिन चाहनेले नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, एक प्रति फोटो र कम्प्युटर आधारभूत तालिम लिएको वा कक्षा ८ मा कम्प्युटर विषय अध्ययन गरेको प्रमाण पेश गर्नुपर्नेछ। एसईइ परीक्षा दिएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने वडाले जनाएको छ।
थप जानकारीका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ।वडा अध्यक्ष रमेश कुमार लामिछानेले तालिमले युवाको सीप विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।







