बागमती मन्च।
काठमाडौं । सरकारी कार्यालयमा तपाईंको फाइल अड्किएर हैरानी भएको छ भने अब त्यसको गुनासो सिधै प्रधानमन्त्रीसम्म पुर्याउन सकिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सञ्चालन गरेको “शून्य बाँकी फाइल सप्ताह” अभियानका क्रममा फछ्र्यौट हुन नसकेका फाइलबारे सर्वसाधारणसँग गुनासो माग गरेको हो।
कार्यालयले बुधबार सूचना जारी गर्दै २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म देशभरका संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायमा सञ्चालन गरिएको अभियानको प्रभावकारिता मूल्यांकन गर्न र अझै बाँकी रहेका कामको विवरण संकलन गर्न यस्तो आग्रह गरेको जनाएको छ।
सूचनाअनुसार, उक्त अवधिमा टुंगिनुपर्ने तर अझै रोकिएका फाइल वा अन्य सरकारी कामकारबाहीका विषयमा सर्वसाधारणले “हेलो सरकार” मार्फत सिधै गुनासो दर्ता गर्न सक्नेछन्।
गुनासोका लागि टोल फ्री नम्बर ११११ तथा अनलाइन प्रणालीमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। सेवा प्रवाहलाई छरितो, प्रभावकारी र पारदर्शी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको अभियानमा कुनै निकायबाट ढिलासुस्ती भएको पाइए तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।
प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत नेत्र प्रसाद पोखरेलद्वारा जारी सूचनामा नागरिकको सहभागितामार्फत सरकारी सेवा सुधार गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।







