काठमाडौ । आगामी निर्वाचनलाई लिएर नेपाली कम्युनिस्ट पार्टी भित्र आत्मविश्वास बढ्दै गएको संकेत देखिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्षतर्फ कम्तीमा ६० सिट जित्ने दाबी गर्दै चुनावी मैदानमा नेकपाको स्थिति बलियो रहेको बताएका छन्।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित वाम बुद्धिजीवीहरूसँगको बैठकमा प्रचण्डले पार्टीको राजनीतिक लाइन स्पष्ट र दोधाररहित भएको उल्लेख गरे।“हामी ‘इफ’ र ‘बट’ मा अड्किएका छैनौँ। सिधै राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा उभिएका छौँ,” उनले भने, “त्यही कारण साथीहरूमा आत्मविश्वास आएको छ।”

उनका अनुसार निष्पक्ष निर्वाचन भए नेकपाको नतिजा अघिल्लो निर्वाचनभन्दा राम्रो आउने अनुमान केवल पार्टीभित्र मात्र होइन, विरोधी धारबाट पनि हुन थालेको छ। “कतिपय रिपोर्टहरूमा त अप्रत्याशित रूपमा धेरै सिट आउने आकलन समेत गरिएको छ,” भन्दै उनले प्रत्यक्षतर्फ ‘६० प्लस’ सिट जित्ने दाबी दोहोर्‍याए।

बैठकमा सहभागी नेता प्रमेश हमालले पनि यही दाबीलाई पुष्टि गर्दै फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट र समानुपातिकतर्फ २० देखि २५ लाख मत ल्याउने लक्ष्य रहेको जानकारी दिए।उनका अनुसार स्थानीय कमिटीबाट प्राप्त रिपोर्ट र वाम बुद्धिजीवीहरूको मूल्याङ्कनले पनि पार्टीको अवस्था सकारात्मक देखाएको छ। यद्यपि, वास्तविक धरातल कत्तिको बलियो छ भन्ने विषयमा सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको उनले बताए।

१२ वर्षपछि एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपाले देशभर १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले विशेष गरी बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जितको मुख्य आधार क्षेत्रका रूपमा हेरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय