काठमाडौं – उपत्यका भित्रका ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्। साउन र भदौ महिनामा हराएका ९६ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर धनीलाई फिर्ता गरिएको छ। यो जानकारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।
प्रहरीको अनुसन्धानबाट यस्ता सवारी फेला पारिएपछि सम्बन्धित धनीलाई फिर्ता दिने कार्य भएको हो। साथै, प्रहरीले चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।
प्रहरीको यो प्रयासले उपत्यकामा सवारीसाधन चोरी नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ भने सर्वसाधारणले आफ्नो हराएको सवारी पुन: पाउनेमा विश्वास बढाएको छ।







