कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिएका किसानहरूको सूची चाँडै सार्वजनिक गरिने बताउनुभएको छ। मन्त्री अधिकारीको अध्यक्षतामा मङ्गलबार बसेको कृषि विषयगत समितिको बैठकमा उहाँले पालिका र प्रदेशहरूसँग समन्वय गरेर संयन्त्र गठन गरी सूची सार्वजनिक गरिने जानकारी दिनुभएको हो। उहाँका अनुसार कृषि अनुदानको सही सदुपयोग सुनिश्चित गर्न नीतिगत सुधारको पहल पनि भइरहेको छ।
मन्त्री अधिकारीले हालको रासायनिक मल वितरण निर्देशिकामा परिमार्जन गर्ने योजना रहेको र किसानले नागरिकता बिना नै मल प्राप्त गर्न सक्ने व्यवस्था गरिने बताउनुभयो। साथै, किसानहरूलाई समयमा मल नपुगेमा मन्त्रालयमा जानकारी गराउन टोल-फ्री नम्बरको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले किसानहरूलाई कृषि ऋणको ब्याज अनुदानमा केही प्रदेशहरूको अभ्यास अनुकरणीय भएको र सबैले यसलाई अनुसरण गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।
उहाँले पशु रोगविरुद्धका खोप अभियान चाँडै सुरु गर्ने योजना रहेको र कोशी प्रदेशको अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। साथै, “कृषिमा लगानी दशक” सफल पार्न तीनै तहका सरकारले सक्रियता देखाउनुपर्ने, उत्पादन, उत्पादकत्व, आधुनिकीकरण, व्यवसायीकरण, र बजारीकरणमा जोड दिनुपर्ने सुझाव दिनुभयो।
बैठकमा कृषि बिमा कार्यक्रम, किसान सूचीकरण, बाली तथा पशुपन्छीजन्य रोग नियन्त्रण, खोप, र क्वारेन्टाइन व्यवस्थापनलगायतका विषयमा पनि छलफल भयो।







