काठमाडौं । जेन्जी आन्दोलनको लहरपछि नेकपा (माओवादी केन्द्र) ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव अघि सारेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले अबको एक साताभित्र केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने र लगत्तै विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरेको जानकारी दिए ।

‘केन्द्रीय समितिको बैठकबाट अहिलेको अध्यक्षसहितका सबै पदाधिकारी, केन्द्रीय समिति, स्थायी कमिटी भङ्ग गरौँ,’ प्रचण्डको प्रस्ताव उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तलका कमिटीहरू पनि भङ्ग गरेर आयोजक समिति बनाएर महाधिवेशनतर्फ अघि बढौँ ।’

प्रचण्डले आगामी मंसिरभित्र विशेष महाधिवेशन सम्पन्न गर्ने र आयोजक समितिले तल्लो तहका कमिटीमार्फत अधिवेशन गराउने प्रस्ताव गरेका छन् । साथै, चुनाव र महाधिवेशनको तयारीलाई सँगसँगै अघि बढाउने योजनासमेत उनले प्रस्तुत गरेका छन् ।

उनका अनुसार, आगामी चुनावमा विगतभन्दा फरक शैलीमा उम्मेदवार छनोट गर्ने, वृहत छलफल र प्रतिस्पर्धामार्फत जनताले रुचाएका व्यक्तिलाई अघि सार्ने रणनीति रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय