निर्देशक तथा कलाकार निश्चल बस्नेतले नेपाली फिल्मलाई उचित शो उपलब्ध नगराएकोमा सिनेमा हल सञ्चालकप्रति आक्रोश व्यक्त गर्दै हलको विकल्प खोज्ने चेतावनी दिएका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत दर्शकले नेपाली चलचित्र मन पराउँदा पनि हल सञ्चालकहरू हिन्दी फिल्मलाई प्राथमिकता दिइरहेको गुनासो गरे।
उनले भनेका छन्, “राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरु त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु हुन्छ, अकुपेन्सी कम हुँदा पनि। अब म हलको विकल्पतिर लाग्ने सोचमा छु।”
हालै रिलिज भएको बस्नेतको फिल्म ‘बेहुली फ्रॉम मेघौली’ राम्रो प्रदर्शन गरिरहेको छ। तर, दीपक-दीपाको ‘छक्का पञ्जा ५’, विराज भट्टको ‘१२ गाउँ’, र जितु नेपालको ‘ज्वाइँ साब’ जस्ता चलचित्र पनि रिलिज भएपछि शो वितरणमा प्रतिस्पर्धा देखिएको छ।
यी सम्पूर्ण चलचित्रका निर्माता र कलाकारहरूले सिनेमा हलहरूले नेपाली चलचित्रलाई पर्याप्त शो नदिएकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।







